Rule 67
विद्युत उपकरणको गुणस्तर तथा उपयोग गर्ने तरिका
अनुमतिपत्र प्राप्त व्यक्तिले विद्युत उत्पादन, प्रसारण तथा वितरण सम्बन्धी काम गर्दा प्रयोग गरिने विद्युत उपकरणको गुणस्तर तथा सुरक्षाको दृष्टिकोणले देहायका कुराहरु पालन गर्नु पर्नेछ ः–
(क) राम्रो गुणस्तरको उपकरण तथा सामग्रीको प्रयोग गर्नुपर्ने,
(ख) कुनै नयाँ प्रतिष्ठान संचालन गर्दा वा भैरहेको प्रतिष्ठानलाई मर्मत सुधार गरी पुन संचालन गर्दा प्राविधिक दृष्टिकोणबाट गर्नु पर्ने सम्पूर्ण परीक्षण गरी ठीक देखिएमा मात्र संचालन गर्नुपर्ने,
(ग) विद्युतका तारहरु जुन कामको लागि प्रयोग गरिने हो सो कामको लागि उपयुक्त क्षमता भएको हुनुपर्ने,
(घ) विद्युत तार जोड्दा खतरा उत्पन्न नहुने किसिमबाट मान्य प्राविधिक मापदण्ड बमोजिम गर्नु पर्ने,
(ङ) भूमिगत तारको ज्वाइन्ट बक्स, मेटालिक कन्ड्यूट ज्वाइन्ट र मेटालिक सिथको ज्वाइन्टहरु आवश्यक परेको समयमा सजिलैसँग निरीक्षण गर्न सकिने गरी जडान भएको हुनु पर्ने,
(च) विद्युत सम्बन्धी परिपथ (सर्किट) वा उप–परिपथ (सब–सर्किट) मा तोकिएको करेन्टभन्दा बढी करेन्ट प्रवाह हुन गएमा त्यस्तो सर्किट वा सब–सर्किटको हानी नोक्सानी हुन नपाउने गरी विद्युत करेन्टको प्रवाह बन्द गर्न फ्यूज वा सर्र्किट ब्रेकर वा अन्य सुहाउँदो उपकरणहरु जडान गर्नु पर्नेछ । यस्ता उपकरणहरु संचालन हुँदा अत्यधिक गरम नहुन, स्पार्क नगर्ने, तथा बदल्दा खतरा नहुने किसिमको हुनुपर्ने,
(छ) सिङ्गल फेज स्वीच जीवित तारमा बाहेक न्युटल तारमा लगाउनु हुँदैन ।